मनहरि तिमिल्सिना ।
सन् १९२९–१९३३ को आर्थिक मन्दीको पृष्ठभूमिमा हिटलर जर्मनीको सत्तामा आए। जर्मन शासक हिटलर भन्थे, ‘मलाई एक असल आमा देउ, तिमीलाई म असल राष्ट्र दिनेछु।’ धेरैले उनको भनाइलाई महावाणिको रुपमा लिए। उनलाई एक असल राष्ट्रवादी शासक ठाने र उनको भनाइलाई आदर्शको रुपमा लिए। तर, हिटलर तिनै शासक हुन्, जसले निरंकुशतन्त्रको जग बसाए। शक्तिको अहंकारले दोस्रो विश्वयुद्ध निम्त्याए। समाजवादी शासनको खिलाफमा उभिए। विश्वका शक्तिशाली देशहरुसँग दुश्मनी मोले। तर, विश्वयुद्ध उनकै लागि आत्मघाती सावित भयो। उनको जीवनकै अवसान कारुणिक रुपमा भयो। तर, पनि मानिसहरु उनको उद्दरण लिन्छन् र भन्छन्, ‘हिटलरको भनाइ आदर्शवाणि हो।’
![]() |
| लेखक : मनहरि तिमिल्सिना |
असोज ३ मा नयाँ संविधान घोषणा भयो। नाकाबन्दीको पृष्ठभूमिमा ओली सरकारको नेतृत्वमा आए। शुक्रबार एक कार्यक्रममा हिटलरकै झल्को आउने गरी ओली वाणि प्रस्फुटित भयो, ‘मलाई अलिकति समय दिनुस्। सिलिण्डर युगको अन्त्य गरी दिन्छु। चुल्होमै ग्याँसको पाइपलाइन फिट गरी दिन्छु।’ दोस्रो विश्व युद्धताकाको हिटलर भनाइलाई महावाणि भनियो। तर, हिटलरले भनेअनुसार गरेका थिएनन्। जर्मनी आफैमा शक्तिशाली र सभ्य मुलूक थियो। हिटलरको उदय र अहंकारले शक्तिको क्षयीकरण ग¥यो। आजको जर्मनी हिटलरकै गलत कदमकै परिणाम थियो।
आज नेपालका प्रधानमन्त्री केपी शर्मा ओली दैनिकजसो कुनै न कुनै नयाँ कुरा बोल्छन्। उनी ठान्छन्, ‘यसले मेरो राजनीतिक प्रभाव बढोस्। सके मान्छेहरुले महावाणिकै अर्थमा बुझुन्। नभए पनि ओली सिंहदरबारमा फोटो झुण्डाउन आएकै होइन भन्नेसम्म हेक्का राखुन्।’ तर, नागरिकले उनको बोलीलाई हावामा उडाउँछन्। उनलाई नागरिक नेता ठान्दैनन्, ‘अभिनेता’ ठान्छन्। सामाजिक सञ्जालमा ओली वाणिमाथि आएका प्रतिक्रियाले ‘ओली आफै जाकिने खाल्डो’ खनिरहेछन् भन्ने छनक दिन्छ। आखिर किन उनी यसो गरिरहेको छन् ?
नागरिकले उनको बोलीलाई हावामा उडाउँछन्। उनलाई नागरिक नेता ठान्दैनन्, ‘अभिनेता’ ठान्छन्। सामाजिक सञ्जालमा ओली वाणिमाथि आएका प्रतिक्रियाले ‘ओली आफै जाकिने खाल्डो’ खनिरहेछन् भन्ने छनक दिन्छ।
नेपालमा अधिकारको आन्दोलन चल्यो। राजनीतिक जागरण ह्वात्तै बढ्यो। युगौंदेखि आन्तरिक शरणार्थी बनाइएका वर्ग, समुदाय जागे। नयाँ संविधानमा सबैलाई आफ्नै आकृतिको चिन्ता थियो। ‘बाहुन आएकै बेला श्राद्ध गर्न’ सबै आतुर भए। उत्पीडनका पीडा व्यक्त भए। जायज आवाजहरु उफ्रिने र दबाउने प्रतिस्पर्धा चल्यो। उत्पीडनभित्र विवेकभन्दा आक्रोशको गुरुत्व बढी थियो। त्यो प्रतिशोधमा बदलियो। राजनीति ‘नदी किनार‘मा उभियो। नदीको दायाँ किनारमा उभिएका सबैले ओलीलाई ‘मियो’ ठाने। सामाजिक सञ्जालमा उनको ‘किर्तन’ चल्यो। ओलीसामू भीमसेन थापाहरु निरिह बने, बनाइयो।
भनिन्छ, ‘बन्दुकको गोली र मानिसको बोली फर्किदैन।’ यो आम युक्ति नै थियो। तर, नेपाली व्याकरणमा अर्को युक्ति थपियो। भन्न थालियो, ‘बन्दुकको गोली र ओलीको बोली एउटै हो, निशाना लगाएरै छोड्छ।’ नेपाली उखान छ, ‘ढाँटको निम्तो खाई पत्याउनु।’ तर, ओली परीक्षणबिनै पत्याइए। अध्यक्ष हुनुपूर्व नै उनलाई एमालेमा प्रभावशाली नेता भनिन्थ्यो। ‘टुक्का’ नै उनी प्रभावशाली बन्ने अचुक अस्त्र थिए। प्रत्येक बैठक, भेला, सम्मेलन, सभामा उनले टुक्का हाल्थे। कार्यकर्तालाई पेट मिचीमिची हसाँउथे। नेताहरुको भाषणबाट आजित भएकाहरु उनका टुक्काबाट भरपूर मनोरञ्जन लिन्थे। ओली त्यसैको बलमा आफ्नो प्रभाव बिस्तार गर्थे।
तर, अहिले ओलीको भूमिका फेरिएको छ। उनी सत्ताको ‘मियो’ हुन्। मियोले धरातल छोड्दा ‘गोरु’ अनियन्त्रित हुन्छन्, दाँई बिथोलिन्छ। उनी जीवनमै सबैभन्दा संयमित हुनुपर्ने ठाउँमा छन्। हिजो उनको एउटा टुक्का ‘निरस’ राजनीतिमा ‘चट्नी’ बन्थ्यो। मानिसहरु जिब्रो पड्काएर स्वाद लिन्थे। तर, अहिले उनको एउटै वाणिले डढेलो लाग्न सक्छ। उनकै वाणि राष्ट्रिय द्धन्द्धको बिज बन्न सक्छ। उनका टुक्काले कहिले मधेशी समुदायलाई घोच्छ, कहिले महिला मनमा पीडा बन्छ। कहिले जनजाति रिसाउँछन्। कहिले सहयोद्धा माधव मनमा चिसो पस्छ। उनको समर्थनको जति ‘गुरुत्व’ छ, विरोधको गुरुत्व त्यसभन्दा कम छैन। तर, उनको ‘नानीदेखि बसेको बानी’ के जान्थ्यो। कार्यकर्ताले जब, ताली बजाउँछन्, हुटिङ गर्छन्, ओली अनुहारमा चमक देखिन्छ। टुक्काको वर्षा हुन्छ। वातावरण रोमाञ्चक हुन्छ। तर, परिणाम ओली व्यक्तित्वको ‘ग्राफ’ घटिरहेको हुन्छ।
उनी जीवनमै सबैभन्दा संयमित हुनुपर्ने ठाउँमा छन्। हिजो उनको एउटा टुक्का ‘निरस’ राजनीतिमा ‘चट्नी’ बन्थ्यो। मानिसहरु जिब्रो पड्काएर स्वाद लिन्थे। तर, अहिले उनको एउटै वाणिले डढेलो लाग्न सक्छ। उनकै वाणि राष्ट्रिय द्धन्द्धको बिज बन्न सक्छ। उनका टुक्काले कहिले मधेशी समुदायलाई घोच्छ, कहिले महिला मनमा पीडा बन्छ। कहिले जनजाति रिसाउँछन्। कहिले सहयोद्धा माधव मनमा चिसो पस्छ। उनको समर्थनको जति ‘गुरुत्व’ छ, विरोधको गुरुत्व त्यसभन्दा कम छैन।
विश्वविख्यात भनाइ छ, ‘सपना त्यो होइन, जुन निदाउँदा देखिन्छ। बरु, सपना त्यो हो, जसले निदाउन दिँदैन।’ भूकम्प र नाकाबन्दीको सास्तीले ओली पनि पक्कै निदाएका छैनन्। उनलाई समाधानको चिन्ता पक्कै छ। कोही पनि शासक आफ्नो कार्यकाल असफल होस् भन्ने चाहँदैन। तर, चाहना नै परिणाममा बदलिन्छ भन्ने छैन। त्यसका लागि सदिक्षा र साधना जरुरी हुन्छ। ओलीले सपना त देखे। तर, त्यसका लागि आवश्यक पर्ने उर्जा खोजेनन्। साधनाको गरेनन्। यसरी उनी आफ्ना सपनाको हत्या गरिरहेछन्।
प्रधानमन्त्रीत्व कालमा उनका चार वाणि चर्चामा रहे। विजयपछि उनले राष्ट्रपति महोदयबाट सपथ लिए। शहीदप्रति पुष्पागुच्छा अर्पण गरे। सिंहदरबारमा पदभार ग्रहण गरे। र, मन्त्रीपरिषद्को बैठक बोलाए। विज्ञहरुसँग राय लिए। निर्णय कार्यान्वयनका जोखिम र लागतबारे सुझाव मागे। मन्त्रीपरिषद्बाट निर्णय गराए, ‘२ वर्षभित्र देशभरीका तुइनहरु विस्थापित गरी झोलुङ्गे पुल निर्माण गरिनेछ।’ उनको निर्णयलाई कसैले हावादारी भनेनन्। सबैतिरबाट यसको स्वागत भयो। कतिपयले यसलाई ‘ओली सफलताको संकेत’का अर्थमा अथ्र्याए। कतिले सिंददरबार र कालिकोटबीचको पर्खाल भत्काउने सुत्रका रुपमा लिए। सबैबाट समर्थन भयो। विरोध भएन। विरोध गर्नुपर्ने कारण पनि त थिएन।
पछिल्ला तीन वाणि भने सर्वाधिक विवादको घेरामा रहे। ओलीले भने, ‘एक वर्षमा लोडसेडिङ अन्त्य गर्छु।’ तर, उर्जा मन्त्रालय सम्हालेका मन्त्री टोपबहादुर रायमाझी भन्छन्, ‘नेपालको माग १,४०० मेघावाट हो। अहिलेसम्मको ४०० मेघावाट छ।’ उनी थप्छन्, ‘भारतबाट आयातित, निर्माणाधीन र सौर्य उर्जा गरी ८०० जति पुग्न सक्छ। प्रधानमन्त्रीले भनेझैं १ वर्षमै लोडसेडिङ अन्त्य गर्न कठिन छ। तर, लक्ष्य राख्नुपर्छ।’ मन्त्री रायमाझीकै भनाइ यथार्थको नजिक देखिन्छ। नेपालमा जलविद्युत् उत्पादनको इतिहास १०० वर्ष लामो छ। एक शताब्दीमा ४०० मेघावाट मात्र उत्पादन हुने देशमा ओली कुन त्यस्ता महामानव होलान्, जसले एकै वर्षमा १००० मेघावाट उत्पादन गर्छन् ? त्यसमाथि सम्पूर्ण उर्जाको भार विद्युतीय उर्जामाथि परिरहेको बेला एक वर्षमा लोडसेडिङ अन्त्य गर्ने नारा हावादारी नै हुन्थ्यो।
कागबेनी घुमेर, देखेर, भोगेर आएकाहरु समेतले ‘हावाबाट बिजुली उत्पादन’लाई हावादारीको संज्ञा दिए। अरबका खाडीमा वर्षाैं काम गरेका नेपाली युवाहरुले पनि यतिबेला सिलिण्डर युगको अन्त्य गर्ने ‘ओली उद्घोष’माथि व्यङ्गवाण कसिरहेका छन्।
हावाबाट बिजुली निकाल्ने ओली वाणि पनि नागरिकले हावादारी नै ठाने। उनीहरुले ओली वाणिमा विश्वास गर्न सकेनन्। कागबेनी घुमेर, देखेर, भोगेर आएकाहरु समेतले ‘हावाबाट बिजुली उत्पादन’लाई हावादारीको संज्ञा दिए। अरबका खाडीमा वर्षाैं काम गरेका नेपाली युवाहरुले पनि यतिबेला सिलिण्डर युगको अन्त्य गर्ने ‘ओली उद्घोष’माथि व्यङ्गवाण कसिरहेका छन्। भनिन्छ, ‘असम्भव भन्ने कुरा मूर्खहरुको शब्दकोषमा मात्र हुन्छ।’ त्यसमाथि हावाबाट बिजुली र पाइपबाट ग्याँस असम्भव कुरा हुँदै होइनन्। कागबेनी लगायतका धेरै ठाउँमा हावाबाट बिजुली निकाल्ने अभ्यासमा नेपालले सफलता हासिल गरेकै हो। पाइपलाइनबाट ग्याँसको आपूर्ति नेपाली सन्दर्भमा नयाँ भएपनि असम्भव कुरा हुँदै होइन। तर, सम्भव कुरामाथि किन यति धेरै आलोचना भइरहेको छ ? ओली कहाँ चुकिरहेका छन् ? सवाल त्यो हो।
नेताको काम नीति निर्माण गर्ने हो। तर, हामीकहाँ नेताको भूमिका ‘टाउकोले टेकेको मान्छे’जस्तै छ। नेताहरुलाई नीति निर्माणको काममा फुर्सद नै हुँदैन। उनीहरुमाथि कार्यकर्ता र शुभेच्छुकको दवाव त्यति नै हुन्छ। जसले प्राविधिक र मसिना काममा समय खर्च हुन्छ। कस्तो नीतिले परिवर्तनको अनुभूति दिन सक्छ ? त्यसतर्फ उनीहरुको ध्यानै जाँदैन। नियुक्ति, सरुवा, बढुवा, दलीय र व्यक्तिगत प्रभाव बिस्तारभन्दा पर नेताहरुको चेतनाले देख्नै सक्दैन। अनि, उनीहरु फस्छन्। अहिले ओलीले भोगेको नियति पनि यहीँनेर छ।
उनले आफ्नो व्यक्तित्व बचाउनै पर्छ। प्रधानमन्त्री कुनै व्यक्ति होइन, देशको सर्वोच्च कार्यकारी संस्था हो। उनको तौल घट्दा देशको शिर निहुरिन्छ। नागरिक चाहन्छन्, ‘विज्ञले बोल्ने कुरा उनले नबोलुन्। नीतिगत कुराप्रति चासो राखुन्।’
कुनै पनि योजना निर्माण र कार्यान्वयनका विभिन्न चरणहरु हुन्छन्। सुरुमा सम्भाव्यता अध्ययन गरिन्छ। लागत अनुमान गरिन्छ। आयोजनाका जोखिमहरुको निरुपण गरिन्छ। राज्यको औकात र लगानीको अवस्था के छ ? त्यसतर्फ ध्यान दिनुपर्ने हुन्छ। देशमा उर्जा क्षेत्रका अनगिन्ती विज्ञहरु छन्, उनीहरु राज्यले आफ्नो क्षमताको सदुपयोग गरोस् भन्ने चाहन्छन्। ओलीले विज्ञलाई भन्नुपथ्र्यो, ‘सम्भाव्यता अध्ययन गर्नुस्।’ तर, उनले सस्तो लोकप्रियताका लागि राति देखेको सपना आमसभाबाटै सार्वजनिक गर्छन्। अनि, यसलाई नागरिकले हावादारी ठान्नु बिल्कूल स्वाभाविक बन्छ।
यतिञ्जेल ओली निकै हल्का सावित भइसकेका छन्। अब उनले आफ्नो व्यक्तित्व बचाउनै पर्छ। प्रधानमन्त्री कुनै व्यक्ति होइन, देशको सर्वोच्च कार्यकारी संस्था हो। उनको तौल घट्दा देशको शिर निहुरिन्छ। नागरिक चाहन्छन्, ‘विज्ञले बोल्ने कुरा उनले नबोलुन्। नीतिगत कुराप्रति चासो राखुन्।’ २६ बाट बढाएर ३० मन्त्रालय उनले नै बनाएका छन्। सबै मन्त्रालयको आफ्नै कार्यक्षेत्र र दायित्व छ। सम्बन्धित मन्त्रालय र अधिकारीलाई थाहै नदिई सबै कुराको घोषणा गर्ने हो भने प्रधानमन्त्रीबाहेक अरु मन्त्रालयको के अर्थ ? तसर्थ, ओलीले बोल्नुभन्दा पहिला सोचुन्। उनका लागि यो आफ्नो तौल बढाउने स्वर्ण समय पनि हो।
२०७२।०९।२६


0 comments:
Post a Comment