राष्ट्रिय कर्मचारीको प्रादेशिक भेला सम्पन्न


पोखरा, १० फागुन।
नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको प्रदेश स्तरीय ‘अन्तरक्रिया, प्रशिक्षण तथा भेला कार्यक्रम’ सम्पन्न भएको छ। सोमबार पोखरामा सम्पन्न भेलाले चैत्र २८ गते हुने निजामती कर्मचारीहरुको निर्वाचनको तयारीका लागि खिला शर्मा घिमिरेको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको छ।
समितिको सह–संयोजकमा डिल्लीप्रसाद ढुंगाना, सदस्यहरुमा सबै प्रदेश भित्रका केन्द्रीय सदस्यहरु, जिल्ला अध्यक्षहरु र नेपाल राष्ट्रिय कर्मचारी महासंघका पदाधिकारी रहने निर्णय गरिएको परिचालन समितिका सह–संयोजक डिल्लीप्रसाद ढुंगानाले जानकारी दिए।
भेलामा बोल्दै प्रमूख अतिथि तथा एमाओवादी प्रवक्ता दिनानाथ शर्माले ‘संघीयताको सफल कार्यान्वयनको जिम्मेवारी कर्मचारीको काँधमा आएको’ बताए। शर्माले भने, ‘हामी संघीयतामा गएका छौं। यसको सफल कार्यान्वयन अहिलेको कार्यभार हो। त्यसका लागि निजामती कर्मचारीहरुले विशेष भूमिका खेल्नुपर्छ।’ शर्माले नागरिकमा आएको जागरणसँगै कर्मचारीमा जनउत्तरदायी सोंचको विकास हुनुपर्नेमा जोड दिए। ‘राजनीतिक नेतृत्वले चाहेर मात्र सबै कुरा गर्न सकिँदैन, त्यसका लागि कर्मचारीको सकारात्मक सोच धेरै महत्वपूर्ण हुन्छ’, शर्माले थपे।
कार्यक्रममा एमाओवादी पोलिट्व्यूरो सदस्य हरिराज अधिकारीले ‘कर्मचारीको हातमा देशको भविष्य रहेको’ बताए। ‘निजामती प्रशासन देशको स्थायी सत्ता हो, तपाईहरुले खेल्ने भूमिकाले देशको विकास वा विनासमा निर्णायक अर्थ राख्छ’, नेता अधिकारी भने। भेलामा नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीका केन्द्रीय अध्यक्ष हरि रावलले ‘चैत्र २८ को निर्वाचनलाई केन्द्रमा राखेर संगठनात्मक गतिविधि अगाडि बढाउन आग्रह गरे। रावलले भने, ‘योग्यता पुगेर पनि बढुवा हुन नसकेका कर्मचारीहरुको बढुवामा हामीले निर्णायक भूमिका खेलेका छौं। अस्थायी, करार, ज्यालादारी र तल्लो तहका कर्मचारीहरुको हितलाई केन्द्रमा राखेर निर्वाचनमा जान्छौं, तपाईहरु पनि त्यसरी नै निर्वाचनमा होमिनुस्।’ रावलले कर्मचारीहरुको साझा यूनियनले धेरै समस्याहरुको समाधान दिने बताए।
कार्यक्रममा नेपाल राष्ट्रिय कर्मचारी महासंघका उपाध्यक्ष अर्जुनकुमार थापा, कर्मचारी नेताहरु सोम सेढाई लगायतले भेलाको औचित्यबारे बोलेका थिए भने संगठनका प्रतिनिधिहरुले जिल्लाको अवस्था र निर्वाचनबारे विभिन्न सुझाव र जिज्ञासा राखेका थिए।

About Manahari timilsina

0 comments:

Post a Comment